भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न अधिकारीहरूले आइतबारदेखि थप कडा नियम लागू गरेका छन्। नयाँ व्यवस्थाअनुसार सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाइएको छ भने सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ।
तोकिएको उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई राजधानी प्रवेशमा रोक लगाइनेछ। धुलो उड्ने गरी गरिने भत्काउने काम तथा खुला क्षेत्रमा हुने निर्माण गतिविधिमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ। अधिकारीहरूले सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु नै यी उपायको मुख्य उद्देश्य भएको बताएका छन्।
मुख्यमन्त्री रेखा गुप्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा नोभेम्बर १ देखि दिल्लीको शीतकालीन कार्ययोजना लागू भएको जनाइएको छ। योजनामा प्रदूषण नियन्त्रणका कडा उपाय, प्रभावकारी कार्यान्वयन र चौबिसै घण्टा निगरानीको व्यवस्था गरिएको उल्लेख छ। विज्ञप्तिमा दिल्लीवासीलाई सरकारी निर्देशन पालना गरी राजधानीको हावा स्वच्छ र स्वस्थ बनाउन सहयोग गर्न आग्रह गरिएको छ।
दिल्ली सरकारले पछिल्लो एक महिनादेखि नै प्रदूषण नियन्त्रणका विभिन्न उपाय अवलम्बन गर्दै आएको छ। यसअन्तर्गत फोहोर जलाउन रोक लगाउनुका साथै कोइला र दाउरा प्रयोग गरी खाद्य परिकार तयार गर्ने सडक किनारका पसलहरूमा प्रतिबन्ध लगाइएको छ। यद्यपि, विगतका वर्षमा लागू गरिएका यस्तै उपायले नोभेम्बरदेखि जनवरीसम्म राजधानीलाई ढाक्ने बाक्लो धुवाँ नियन्त्रणमा खासै सफलता पाउन सकेका छैनन्।
भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीमा जाडोयाममा हुने प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत छ। कृषि अवशेषलगायत जैविक पदार्थ जलाउँदा २० प्रतिशत र कोइलाबाट सञ्चालित विद्युत् केन्द्रसहितका उद्योगबाट करिब नौ प्रतिशत प्रदूषण हुने गरेको छ। आइतबार गरिएको मापनमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर २०१ माइक्रोग्राम रहेको थियो, जुन सुरक्षित सीमाभन्दा १३ गुणाभन्दा बढी हो। गत वर्ष दिल्लीमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर ८४६ माइक्रोग्रामसम्म पुगेको थियो, जुन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा ५६ गुणा बढी हो।
