दक्षिण भारतीय अभिनेता रवि तेजा अभिनीत फिल्म ‘इरुमुडी’ बाल कलाकारलाई लिएर उठेको विवादका कारण चर्चामा आएको छ। फिल्ममा अभिनय गरेकी बाल कलाकार नक्षत्रसँग जोडिएको विषयमा गुनासो परेपछि तेलंगाना श्रम विभागले निर्माण पक्षसँग स्पष्टीकरण मागेको छ।
‘जय लोक सत्ता’का अध्यक्ष सी. महेश बाबुले श्रम विभागमा उजुरी दर्ता गराउँदै फिल्मको छायांकन र प्रचारका क्रममा नाबालिग बालिकालाई संलग्न गराउँदा बाल श्रमसम्बन्धी नियम पालना नभएको आरोप लगाएका छन्। उजुरीमा बालिकाले काम गरेको समय, उनलाई दिइने पारिश्रमिक र सुरक्षाको विषयमा प्रश्न उठाइएको छ।
यसै विषयमा रङ्गा रेड्डी क्षेत्रका संयुक्त श्रम आयुक्तले नोभेम्बर ४ मा निर्माता कम्पनी मैथरी मुभी मेकर्ससँग छलफल गर्ने भएका छन्। विभागले छायांकनका क्रममा जिल्ला मजिस्ट्रेटको अनुमति लिएको थियो वा थिएन, अभिभावकको सहमति थियो वा थिएन, बालिकाको पढाइको व्यवस्था कसरी गरिएको थियो र उनको पारिश्रमिकको २० प्रतिशत रकम फिक्स डिपोजिटमा राखिएको थियो वा थिएन भन्ने कागजातसहित प्रमाण पेस गर्न भनेको छ। प्रचार कार्यक्रममा बालिकाको उपस्थिति र सुरक्षाको अवस्थाबारे पनि छानबिन हुने विभागले जनाएको छ।
विवाद तब झन् चर्कियो, जब फिल्मको प्रि-रिलिज कार्यक्रमको एउटा भिडियो सामाजिक सञ्जालमा फैलियो। कार्यक्रममा बाल कलाकार नक्षत्रले रवि तेजालाई आफूलाई के उपनाम दिन चाहनुहुन्छ भनेर सोधेकी थिइन्। जवाफमा अभिनेताले दुई पटक आपत्तिजनक शब्द प्रयोग गरे, जुन सुनेर त्यहाँ उपस्थित अरू मानिसहरू हाँसेका थिए। बालिकाले आफूले सो शब्दको अर्थ नबुझेको बताएपछि अभिनेताले पछि बताउने बताएका थिए।
यस घटनापछि सामाजिक सञ्जालमा अभिनेताको व्यापक आलोचना भइरहेको छ। तर, अभिनेता र फिल्मको टोलीले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
गत २१ अगस्टमा रिलिज भएको ‘इरुमुडी’ पारिवारिक ड्रामा फिल्म हो। फिल्ममा मदिराको कुलतमा फसेको र हिंस्रक अतीत बोकेको एक पिताको कथा देखाइएको छ, जसले आफ्नी छोरीको इच्छा पूरा गर्न ‘अयप्पा दीक्षा’ लिने निर्णय गर्छन्।
