पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा शनिबार फेरि दुई देशका सुरक्षा बलबीच गम्भीर भिडन्त भएको छ। घटनापछि दुवै देशले आ-आफ्नै विवरण सार्वजनिक गरेका छन्।
अफगानिस्तानको सरकारी समाचार संस्था बख्तर न्यूज एजेन्सीले तालिबान सरकारका स्रोतहरूलाई उद्धृत गर्दै पक्तिया प्रान्तमा अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबीच घण्टौंसम्म लडाइँ चलेको जनाएको छ। बख्तरका अनुसार उक्त भिडन्तमा सात जना पाकिस्तानी सैनिक मारिएका छन्। यद्यपि यस दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
यता पाकिस्तानले भने फरक विवरण दिएको छ। रेडियो पाकिस्तानले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै खैबर पख्तुनख्वा प्रान्तको अपर कुर्रम क्षेत्रमा अफगान तालिबान सुरक्षा बलले विनाकारण गोलीबारी सुरु गरेको र त्यसको पाकिस्तानी सेनाले कडा र प्रभावकारी जवाफ दिएको जनाएको छ।
तालिबान सरकारका सुरक्षा स्रोतहरूले बीबीसी पश्तोसँग कुरा गर्दै आफ्ना सैनिक तथा सीमा सुरक्षाकर्मी र पाकिस्तानी सेनाबीच झडप भएको पुष्टि गरेका छन्। बीबीसी पश्तोलाई प्राप्त एक भिडियोमा तालिबान सुरक्षा बलले सीमापारि रहेका पाकिस्तानी सेनालाई लक्षित गरी रकेट तथा तोप प्रहार गरिरहेको देखिएको छ।
यसअघि गत अक्टोबर १ मा पाकिस्तान सरकारले अफगानिस्तानका ११ जना कथित विद्रोहीलाई मारेको दाबी गरेको थियो। तर तालिबान अधिकारीहरूले उक्त दाबी अस्वीकार गर्दै कुनार र हेल्मन्द प्रान्तमा सर्वसाधारणका घरमा भएको बमबारीमा नौ जना नागरिक मारिएको आरोप लगाएका थिए।
पछिल्लो एक वर्षयता पटक–पटक हुँदै आएका सशस्त्र झडप र आक्रमणपछि पाकिस्तानले अफगानिस्तानसँगका सबै व्यापारिक नाकाहरू बन्द गरेको थियो.
