काठमाडौं । सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।यस्तै गोरखाका चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।२०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रलाई लक्षित गरी यो निर्णय गरिएको सरकारले जनाएको छ ।विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाउन प्रक्रियागत जटिलता हट्ने र काम छिटोछरितो रूपमा सञ्चालन गर्न सहज हुने सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।
गोरखा, बागलुङ र धादिङका बाढी प्रभावित पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
